काठमाण्डौ—१६, भदौ /
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व हरितालिकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी छन्।
राष्ट्रपतिले एक शुभकामना सन्देश जारी
गरी सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तिज
पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत
बसेर शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहिआएको स्मरण गर्दै यस्ता
पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव
कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जनको अवसरसमेत प्रदान
गर्दै आएका बताइन्।
सन्देशमा उनले नेपाली मौलिक संस्कृति सम्वर्धन
गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवन शैली
अपनाउन यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता
भएको बताइन्।
प्रधानमन्त्रीद्वारा शुभकामना
यस्तै
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाली महिलाहरूको महान पर्व
हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरुमा
सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका
छन्।
प्रधानमन्त्रीले नेपाली महिलाहरूले विगतमा कष्टकर सामन्ती
संस्कार र कैयन कुचलनको बोलवाला रहेका बेला वा समानताको मान्यता स्थापित
नभएको परिवेशमा समेत तीजलाई थोरै भए पनि राहतको अनुभूति गराउने पर्वका
रुपमा मनाउने गरेका स्मरण गरे। ‘नेपालको सकारात्मक साँस्कृतिक परम्परामा
महिला मुक्ति वा स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रुपमा तीजको
विशेष महत्व छ,’ तीजका अवसरमा प्रधानमन्त्रीले जारी गरेको शुभकामना
सन्देशमा भनिएको छ, ‘आज नेपाली महिलालगायत समाजमा लामो समयसम्म
आर्थिक–सामाजिक अवसरहरुबाट वञ्चित सबैका लागि सारभूत समानताको प्रत्याभूति
गर्दै जननिर्वाचित संविधानसभाबाट निर्माण गरिएको संविधानलाई कार्यान्वयन
गर्दै पर्याप्त कानुनहरु बनिसकेका छन्।’
प्रधानमन्त्रीले संघीय
लोकतान्त्रिक गणतन्त्र नेपालमा महिलाहरूको नागरिक तथा राजनीतिक अधिकारहरुको
प्रयोगको अवस्था विश्वमा नै गौरव गर्न लायक रहेको पनि बताएका छन्।
‘राजनीतिक लगायत समाजका अन्य क्षेत्रमा नेपाली महिलाहरुको उपस्थिति
उल्लेखनीय रहेको छ। महिलाको प्रतिनिधित्व संसदमा ३३ प्रतिशत र स्थानीय तहमा
करिब ४१ प्रतिशत पुगेको छ भन्ने तथ्यले प्रत्येक नेपालीलाई गौरवानुभूति
हुने गरेको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘नीति निर्माणको तहमा
महिलाहरुको यस प्रकारको उपस्थितीले आउँदा दिनहरुमा महिला र पुरुषबीच सारभूत
समानताका व्यवस्था अझ सुदृढ हुनेछ भन्ने विश्वास गर्न सकिन्छ।’