तिजलाई खर्चिलो र भड्किलो नबनाई शक्ति र संघर्षको आधार बनाउँदै सामाजिक सद्भावको पर्व बनाई राष्ट्रको समृद्धिसँग पनि गाँस्न सक्नुपर्छ
नेपाली महिलाको महान् चाड हरितालिका तिज
हाम्रो धर्म, संस्कृति, परम्परा, स्वास्थ्य, सामाजिक मूल्य–मान्यता एवं
महिलाको अधिकारसँग पनि गाँसिएको छ । त्यसैले नेपाली महिलाले
परापूर्वकालदेखि नै मनाउँदै आएको तिजले आधुनिकतामा प्रवेश गर्दा अन्य
समुदायमा पनि यसको प्रभाव पर्न गएको देखिन्छ भने विदेशमा पनि विभिन्न
ठाउँमा छरिएर रहेका नेपाली दिदी–बहिनीले यो चाड मनाउँदै आएको पाइन्छ ।
यसरी प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयामा
मनाइने तिज पर्व हिन्दू नारीले शिवपार्वतीको कथाबाट प्रभावित भएर मनाउन
थालेको देखिन्छ । प्रेम, सद्भाव, आत्मीयता, पूजाआजा, नाचगान एवं मिठो–मसिनो
खाएर मनाइने तिज नेपालीको मौलिक पर्व हो । नेपालीले यसलाई विशेषगरी
महिलाको चाडका रूपमा लिने गर्छन् ।
समयको गति एवं समाजको रूपान्तरणसँगै तिजलाई
विकृतिरहित सादा, सौम्य, सौहार्दपूर्ण बनाउँदै महिला सशक्तीकरणको अवसरका
रूपमा उपयोग गर्नु बुद्धिमत्तापूर्ण हुन्छ । यसले गर्दा तिजको गरिमा बढ्छ र
यसमाथि हुने आलोचनाबाट पनि बच्न सकिन्छ ।
पहिले–पहिले तिजमा महिलाको व्यथा, भोगाइ र
उनीहरूका पीडा झल्किने गीत गाउने एवं माइतीको माया, साथीभाइ, देशको माटो,
बालापन, सासू–बुहारीको सम्बन्धजस्ता यावत् विषयलाई गीतमार्फत पस्किने
गरिन्थ्यो भने आज तिजलाई महिला सशक्तीकरणको अवसरका रूपमा ग्रहण गरेर
महिलामाथिको लैंगिक विभेद, दुव्र्यवहार, सदियौँदेखि भोग्दै आइरहेका
अपमानजनक पीडाका व्यथा एवं वेदनालाई समाप्त पार्दै सामाजिक रूपान्तरणको
पाटोको रूपमा यसलाई विकास गरिनुपर्छ ।
यसलाई खर्चिलो तथा भड्किलो नबनाई शक्ति र
संघर्षको आधार बनाउँदै सामाजिक सद्भाव, एकता, मित्रता र प्रेममा परिणत गरी
घरपरिवारको सुस्वास्थ्य र दीर्घायुका साथै राष्ट्रको समुन्नत विकास एवं
समृद्धिसँग पनि गाँस्न सक्नुपर्छ ।
हाम्रो संस्कृति विश्वकै प्राचीन एवं समृद्ध
संस्कृति हो । यो वैदिक सनातन धर्ममा आधारित छ । संस्कृति धर्मकै उपज
भएकाले हाम्रो संस्कृति मानवीय मूल्य–मान्यताले भरिपूर्ण छ । हामीले
मनाउँदै आएका चाडपर्वले केही न केही सन्देश दिइरहेका हुन्छन् । यिनले दिएको
सन्देश र यसभित्र लुकेको मर्मलाई चाडपर्वका रूपमा मनाई सिंगो समाजलाई
सन्देश दिँदै समाजलाई रूपान्तरण गर्नुपर्छ । जसले गर्दा हाम्रो संस्कृति
संरक्षण हुन्छ, एवं समाजमा रहेका हरेक वर्गले यसको अनुसरण गरेर अगाडि बढ्न
प्रेरणा पनि पाउँछन् ।
कुनै पनि चाडपर्व मनाउनुका पछाडि प्रायः तीन
कारण रहने गर्छन्– सामाजिक, आर्थिक र धार्मिक । हामीले मनाउने सबै चाडपर्व
प्रायः महिला र पुरुष दुवैले समान रूपले मनाउने चलन छ, तर तिज भने महिला
दिदी–बहिनीले मात्र मनाउने पर्व हो । भावनात्मक हिसाबले हेर्ने हो भने तिज
प्रेम र समर्पणको पर्व हो । यसले निःस्वार्थ र त्यागमय प्रेमको सन्देश
बोकेको हुन्छ किनभने सुखमय दाम्पत्य जीवन र आफ्ना सन्तानको सुखका लागि पनि
पानीसम्म नखाई लिइने यो व्रतले महिला प्रेम र ममताका लागि कति संवेदनशील र
त्यागमय हुन्छन् भन्ने देखाउँछ ।
धार्मिक दृष्टिकोणले हेर्ने हो भने हरितालिका तिजको कथा भगवती पार्वतीसँग पनि जोडिएको छ । पार्वतीको विवाह उनका पिता हिमालय पर्वतले वैकुण्ठाधिपति भगवान् विष्णुसँग गरिदिन लागेका थिए । तर, पार्वती भने घर न थर भएर विष, भाङ धतुरो खाने दिगम्बर भोलेनाथसँग प्रेम गर्थिन् र उनैसँग विवाह गर्न चाहन्थिन् । उनले महादेव पति पाउनकै लागि आफ्ना साथीहरूको सहयोगमा घरबाट भागेर निर्जन ठाउँमा गई पानी पनि नखाई व्रत बसिन् । त्यसैले यो पर्व साथीहरूसँग मिलेर आफ्ना पतिको सुस्वास्थ्य दीर्घायुको कामना गरी मनाइन्छ । यही अडानमा हठ भएकै कारण पार्वतीको जित भयो भने शिवजीसँग उनको विधिपूर्वक विवाह भयो ।
यसरी तिज पर्वले दिएको प्रेम र सद्भावको
सन्देशलाई हामीले अहिले पनि जीवन्त राख्दै हरेक परिवारमा श्रीमान् र
श्रीमतीको सम्बन्ध, साथी, संगिनी र छिमेकीको सम्बन्धलाई प्रगाढ
बनाउनुपर्छ । आजको युगको चाहनाअनुरूप हामीले यसलाई महिला अधिकारसँग गाँस्दै
समाजमा विद्यमान विकृति, विसंगति, रुढिवादी परम्परा, पछौटेपन र
अज्ञानतालाई हटाएर समाजमा जकडिएर बसेको दाइजो प्रथा, बोक्सी प्रथा, छाउपडी
प्रथा, हत्याहिंसा, बलात्कार, बालविवाह बहुविवाह र चेलीबेटी
बेचबिखनविरुद्धको सचेतना एवं जागरण अभियानसाथ अबको हरितालिका तिज मनाउन
अत्यन्त आवश्यक छ ।
नेपाली महिलाका सवाल नेपालको शासन व्यवस्था
परिवर्तन एवं समाज रूपान्तरणसँगै उनीहरूको भूमिका र पहिचान, अवसर,
प्रतिनिधित्वका मुद्दा पनि नयाँ ढंगले उठ्ने गरेको पाइन्छ । २००७ सालको
क्रान्तिमा महिलाको संघर्षको लक्ष्य प्रजातन्त्र प्राप्ति, महिला मुक्ति
एवं महिलाले मत हाल्न पाउनुपर्छ भन्नेमा केन्द्रित थियो । त्यसपछिका संघर्ष
भने पुरुषसरह राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक आदि क्षेत्रमा समान
अधिकारको लडाइँ थियो ।
गणतन्त्र नेपालको स्थापनापछि नेपालको
संविधानले महिला अधिकारलाई मौलिक हकका रूपमा राखेको छ भने संविधानको धारा
३८ ले राज्यको हरेक निकायमा महिलाको समानुपातिक समावेशी प्रतिनिधित्वको
व्यवस्था सुनिश्चित गरेको छ, जुन अझै कार्यान्वयन हुन सकेको छैन । त्यसैले
आजको तिजले महिला वर्गको हरेक नीति–निर्माण तहमा अर्थपूर्ण समानुपातिक
सहभागिताको सवाललाई सन्देशको रूपमा ग्रहण गरी महिलालाई आफ्ना अधिकारका लागि
सक्रिय रहन अपिल गर्न सक्नुपर्छ । वास्तवमा महिला अधिकारको चेतनाको जन्म
यस्तो सामाजिक अवस्थाबाट सुरु भयो, जहाँबाट उनीहरूमाथि भेदभाव र अन्याय
सुरु भयो ।
समयको गति एवं समाजको रूपान्तरणसँगै तिजलाई विकृतिरहित सादा, सौम्य, सौहार्दपूर्ण बनाउँदै महिला सशक्तीकरणको अवसरका रूपमा उपयोग गर्नु बुद्धिमत्तापूर्ण हुन्छ
विगतमा सानो उमेरमा विवाह हुने, महिलाले
लोग्ने, सासू, ससुरा र परिवारलाई समाल्नुपर्ने तथा घरबाहिरको कामको पनि
सम्हाल्नुपर्ने अवस्था थियो । त्यसैले महिलाले पनि यही तिजको समयमा माइत
गएर आफ्ना पिरमर्का बाबुआमासमक्ष पोख्ने, मिठो–मसिनो खाने र साथीभाइलाई
भेटेर माया साटासाट गर्ने माध्यम तिज बनेको थियो । तर, आज समय फेरिएको छ ।
विश्वभरि नै महिलाले पुरुषसरह समान अधिकारका लागि संघर्ष गरी सफलता पनि
हासिल गरिसकेका छन् । त्यसैले तिज महिला अधिकारका लागि संघर्ष एवं
सशक्तीकरणको सवालसँग पनि गाँसिन पुग्यो ।
महिला सशक्तीकरण भनेको महिलाविरुद्धका सबै
प्रकारका विभेद र हिंसा अन्त्य गर्नु हो । महिला हक र अधिकारको सुरक्षा एवं
राज्यले अधिकारमा आधारित विकासका अवधारणा अवलम्बन गरी नीतिगत, कानुनी र
संस्थागत सुधारका लागि विकासका कार्यक्रम सञ्चालन गर्नु पनि महिला
सशक्तीकरण हो । विभेदकारी कानुन हटाई हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व
गराएर महिलामा अन्तर्निहित क्षमता वृद्धि गर्नु पनि महिला सशक्तीकरण नै
हो । तर, सरकार यो पाटोमा अगाडि बढेको देखिँदैन ।
दिन–प्रतिदिन तीन वर्षकी किशोरीदेखि ७१
वर्षकी आमामाथि बलात्कारका घटना घटिरहेका छन्, तर अपराधीलाई पक्रेर कानुनको
दायरामा ल्याउन सरकारले सकिरहेको छैन । दण्डहीनता अन्त्य हुनुको साटो
मौलाइरहेको छ । त्यसैले तिजले किशोरी तथा महिलामाथि भेदभाव अन्त्यको सन्देश
बोक्नैपर्छ । मनुस्मृतिमा ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’
अर्थात् जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवताको वास हुन्छ भनिएको छ । यस
उक्तिलाई सार्थकतामा परिणत गर्न तिजलाई महिला सशक्तीकरणसँग पनि
गाँस्न अत्यन्त जरुरी छ ।
महिलामा यति धैरै शक्ति छ कि उनीहरूले समाज र
राष्ट्रका कतिपय सवाललाई सजिलै सुल्झाउन सक्छन् भने परिवार एवं देशको
आर्थिक स्थितिलगायत आर्थिक आपूर्तिको प्रबन्ध पनि राम्रोसँग गर्न सक्छन् ।
आज पनि महिला आर्थिक रूपले परनिर्भर छन् । महिलालाई आत्मनिर्भर बनाउन
सबलीकरण र सशक्तीकरणका कार्यक्रम सरकारले सञ्चालन गर्न जरुरी छ । महिला र
पुरुषबीच समानताको भावना आउँदा मात्र दुवैको शक्ति र बुद्धि लगाउँदा मुलुक
समुन्नत र समृद्धिशाली बन्न सक्छ ।
त्यसैले तिजले महिला–हिंसा अन्त्य, आर्थिक
सबलीकरण, छोरा र छोरी दुवै बराबरी, समान अवसर समान दायित्व, राज्यका हरेक
तहमा ५० प्रतिशत प्रतिनिधित्व आदि सन्देश बोक्नैपर्छ । तिज महिलाका लागि
जागरण, चेतना, ऊर्जा, साहस, अठोट र नयाँ गन्तव्यको खोजीको माध्यम
बन्नैपर्छ । तिज महिला सशक्तीकरणको अवसर हो । त्यसैले यसलाई धार्मिक र
सांस्कृतिक पक्षसँग मात्र नगाँसी हरेक क्षेत्रमा महिला सशक्तीकरणको अवसरका
रूपमा ग्रहण गरिनुपर्छ ।
(कांग्रेस केन्द्रीय सदस्य डा. संग्रौला प्रतिनिधिसभा सदस्य हुन्) साभार नयाँ पत्रिकावाट