स्याङ्जा ५, भदौ ।
कुनै बेला निकै चहलपहल हुने स्याङ्जा सदरमुकाम पुतलीबजार अहिले सुनसान अवस्थामा छ । सबै सरकारी कामका लागि सदरमुकाम जानुपर्ने बाध्यता भएका बेला पुतलीबजारमा नागरिकको चहलपहल निकै थियो । सानो कामका लागि भएपनि सदरमुकाम पुग्नु पर्ने बाध्यता नागरिकमा थियो ।
सरकारी काम होस वा बैकिङ कारोवारका लागि होस हरेक नागरिक सदरमुकाम पुग्नै पथ्र्यो । मुलुक संघीयतामा गएपछि सबै सरकारी कामकाज स्थानीय सरकारबाटै हुने व्यवस्था आएपछि सदरमुकाम झनै सुनसान बन्न पुगेको हो । कृषि, शिक्षा, पशु, स्वास्थ्य, प्राविधिक, महिला विकास, सहकारी कार्यालयहरुको नगरस्तरीय शाखामा गाभिएपछि सदरमुकाम नाम मात्रैमा सिमित हुन पुगेको छ । संघियता नहुनुपुर्व हरेक होटल देखि रेष्टुरेन्टमा खचाखच देखिने अहिले निकै सुनसान देखिन्छ । सदरमुकाममा सबै भन्दा बढी मर्का होटल व्यवसायीहरुलाई भएको पाइन्छ । अदालत, जिल्ला प्रशासन, सरकारी वकिलको कार्यालयकाम हुने नागरिक मात्रै सदरमुकाम पुग्ने गर्छन् ।
संघियता लागु भएपछि नागरिकहरु सदरमुकाम पुग्न परेन । प्रशासन, मालपोत र नापी कार्यालयलाई पनि विभाजन गरेपछि झनै दैनिक भीड लाग्ने सदरमुकामका व्यवसायी झनै मर्कामा परेको स्याङ्जा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नवराज सुवेदीले बताए । सधै एउटै खोजेर मात्रै हुदैन, गाँउ गाँउमा यातायात पुग्यो, हात हातमा मोवाईल सेवा पुग्यो संघका निर्वतमान अध्यक्ष सुवेदीले भने, ‘हिजोको व्यवस्था परिवर्तन भयो अव नयाँ आयम ल्याउनु पर्छ । सदरमुकाम गण्डकी प्रदेशको राजधानीका कारण पनि ओझेलमा भयो, व्यापार पनि चौपट भयो’, उनले भने । व्यापार व्यवसायलाई बढाउनका लागि नगरपालिकाले पनि छुट्टैखालको योजना ल्याउनु पर्ने जरुरी देखिन्छ ।
‘गाँउमा युवा छैनन्, सबै विदेश पलायन हुन बाध्यता छ सुवेदीले भने, ‘छोराछोरी पढाउन श्रीमतीहरु सदरमुकाम भन्दा पोखरा जान थाले, सदरमुकाममा भन्दा अन्तराष्ट्रिय सुविधाको खोजी हुन थाल्यो । गाँउकालाई गाँउमै राख्ने, शहरकालाई अन्य शहरमा जान नपर्ने कार्ययोजना तयार नगरेसम्म सदरमुकाम अझै ओझेल मात्रै होइन आर्थिक कारोवारमा समेत समस्या देखिन्छ’, सुवेदीले भने ।
स्याङ्जा सदरमुकामलाई पुर्ण बजार बनाउनका लागि सिद्धार्थ राजमार्गको मापदण्ड पुरा गर्नुपर्छ र मात्रै केही हदसम्म भएपनि व्यापार व्यवसाय र चहलपहल बढ्नेछ । विकास गर्ने लक्ष्य लिएर आएका जनप्रतिनिधि नै सदरमुकाम नवस्नु पनि अर्को विडम्वना रहेको तर्क सुवेदीले राखेका छन् । सुवेदीले भने सदरमुकामलाई पोखरा सगँ जोड्ने र वालिङलाई जिल्लाको सिटीको रुपमा विकास गर्नुपर्ने देखिन्छ । हरेक स्थानीयतहमा बैकिङ् सेवा पुग्नु, सरकारी सेवा स्थानीयतह बाटै हुनु र प्रविधिको विकास हुनुले जिल्ला सदरमुकाम सुनसान बन्न पुगेको तर्क सर्वसाधरणहरुको छ ।
पुतलीबजार नगरपालिकाले गाँउ गाँउबाट शहर केन्द्रित हुने खालको कुनै योजना बनाउन नसक्नुले पनि पुरानो सदरमुकाम ओझेलमा परेको अनुमान व्यवसायीको छ । विगतका बर्षहरुमा भन्दा पछिल्लो बर्षहरुमा व्यपार निकै कम भएको सुनचाँदी व्यवसायी विमल खातीको भनाई छ । ‘संघीयता आउदा जनताले गाँउमै सेवा पाउनु सुखद हो व्यवसायी खातीले भने, ‘यसको मर्का हामी व्यवसायीले खेप्न परो, यसका लागि उद्योग वाणिज्य संघ र नगरपालिका जिम्मेवार बन्नु आवश्यक छ ।’ व्यवसायीको व्यपार घाटा हुनु भनेको सरकारको राजस्व पनि कम हुनु हो प्रतिप्रश्न गर्दै खातीले भने । व्यवसायी खाती मात्रै व्यवसाय कमी भएको पात्र मात्रै होइनन् अन्य व्यवसायी पनि चिन्तित रहेका छन् ।
यता पुतलीबजार नगरपालिकाले भने स्थानीयतह भएका कारण केही चहलपहल घट्नु स्वभाविक भएको जनाएको छ । नगरपालिकाका प्रवक्ता ख्यामनारायण अधिकारीले नगरपालिकाले धेरै विकास गरेपनि प्रचार प्रसार नहुनुले पनि आझेल परेको बताए । सदरमुकालाई केही चहलपहल बढाउन नगरपालिकाले डिपिआरको तयारी गर्दै छ प्रवक्ता अधिकारीले भने, ‘भुमिगत मार्ग, ग्रामिण पर्यटनको विकास र शैक्षिक सुधारलाई प्रमुख योजनामा राखेका छौं ।’ दीर्घकालिन योजना बनाएर नगरपालिका अगाडी बढाउने प्रयासमा रहेको उनले बताए ।
जिल्लाकै सदरमुकाम आझेलमा पर्न नदिने गरी सदरमुकाममा भित्र रहेका विभिन्न संघसंस्था, सरकारी कार्यालयको समन्वय हुनु जरुरी देखिन्छ । अन्य स्थानीयतहको तुलनामा सदरमुकाम नै हरेक क्षेत्रबाट पछाडी परेमा त्यसको असर समग्र जिल्लालाई पर्ने हुदा बेलैमा धयान दिनु आवश्यक छ ।
सुनसान बजार : कुनै बेला मानिसहरुको चहलपहल हुने पुरानो बैक रोड भनेर चिनिने सदरमुकामको बजार । यो बाटो भएर जिल्ला अदालत, प्रशासन कार्यालय, जिल्ला समन्वय, नेपाल टेलिकम, सरकारी वकिलको कार्याल लगायतका कार्यालयमा जादा प्रयोग हुने गर्छ ।