हिमदुुत सम्वाददाता
स्याङ्जा- १, भदौ । स् आफुलाई राज्यले दोश्रो दर्जामा राखेको भन्दै बाल विकास सहजकर्ताले स्याङ्जामा अन्र्तक्रिया मार्फत सरकारलाई उचित सेवा सुबिधाका लागि दवाव दिन आन्दोलनको तयारी गर्ने जनाएका छन । सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सरकारसंग उनीहरुको माग छ ।
बाल शिक्षक जिल्ला स्तरीय भेला मार्फत उनीहरुले सो चुनौती दिएका हुन । शिक्षा समन्वय इकाई प्रांगणमा आइतवार आयोजित कार्यक्रममा बोल्दै पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीले संघले तोकेको बजेट कम हुनुका साथै नगरपालिकाको पनि आन्तरिक स्रोत पनि कम भएकोले बाल विकास शिक्षकलाई सहयोग गर्न नसकेको बताइन । आफु पनि शिक्षक पृष्ठभूमिबाट आएको बताउदै नगर प्रमुख क्षेत्रीले बाल विकास शिक्षकका लागि आवश्यक सहयोग गर्ने पहल भैरहेको जानकारी दिए ।
कार्यक्रममा शिक्षा समन्वय ईकाई प्रमुख गुरुप्रसाद पौडेल, बाल विकास शिक्षक केन्द्रीय अध्यक्ष कृष्णकुमारी थापा, नेपाल शिक्षक संघका अध्यक्ष लक्ष्मीप्रसाद पौडेल, राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हिमलाल ढकाल, एकिकृत शिक्षक संगठनका अध्यक्ष अमृत खनाल, राहत शिक्षक संघका सचिव बिमल गौतम, शिक्षा शाखा अधिकृत निलकण्ठ ढकाल लगायतले बाल विकास शिक्षकका सेवा सुबिधाका लागि राज्यले दोश्रो दर्जाको ब्यवहार गरेको बताए ।
यसैगरी,बाल विकास शिक्षक विरुवा गाउपालिकाका शोभा थापा, आधीखोलाका यामकुमारी तिवारी, फेदिखोलाका लक्ष्मी पौडेल, कालीगण्डकीका कमला पाण्डे, अर्जुनचौपारीका सरिता सुवेदी, पुतलीबजारका राधा शाही, चापाकोटका दुर्गा खनाल र जिता राना, गल्याङ्का लक्ष्मी अर्याल, भीरकोटका सुस्मिता अर्याल र वालिङ्का ओमकला काफले लगायतले सरकारले मासिक ६ हजार रुपैंया सहयोगी कार्यकर्ता एव्म बाल शिक्षकको श्रम शोषण गरेको आरोप लगाए।
बक्ताहरुले राज्यलाई बाल सहजकर्ताको आवश्यकता हो भने ब्यवस्थापन गर्न र आवश्यकता होइन भने तत्काल खारेज गर्न समेत चुनौती दिएका छन । बर्षौंदेखि स साना बालबालिकाको स्याहार, सुसार, शिक्षा दिक्षा एवं आमा बनेर स्तनपान गराउदै हुर्काउने बाल सहजकर्तालाई राज्यले वेवास्ता गरेकोमा उनीहरुको दुखेसो छ ।
बालविकास केन्द्र स्याङ्जाका अध्यक्ष कल्पना अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव लक्ष्मी भट्टराईले गर्नुभएको थियो । जिल्लाभर बाल सहजकर्ता ५ सय २७ जना रहेका छन् ।