भदौ १, २०७६
काठमाडौं – बंगलादेशको राजधानी ढाकाबाहिर रहेको झोपडपट्टीमा भयानक आगलागी हुँदा लगभग तीन हजार मानिस घरवारविहीन भएको अधिकारीहरूले बताएका छन् ।
मिरपुरमा भीडभाडयुक्त झोपडपट्टीमा भएको आगलागीका कारण तीनजना घाइते भएका छन् ।
देशको प्रमुख क्रिकेट स्टेडियमबाट केही किलोमिटर मात्र पर रहेको झोपडपट्टीमा आगो लागेपछि धूवाँको मुस्लो फैलिएको थियो ।
अग्निनियन्त्रकहरूलाई आगो निभाउन तीन घन्टा लागेको मिरपुर फायर स्टेसनका व्यवस्थापक अनवर होसेनले बताए ।
‘हाम्रो अनुसन्धान समितिका अनुसार, १२ सयवटा झुप्रा क्षतिग्रस्त भएका छन् भने ७५० वटा झोपडी पूर्णतया डढेका छन्,’ विपत व्यवस्थापन तथा राहत मन्त्रालयका राज्यमन्त्री इनामुर रहमानले बताए ।
ईद उल–अदहा मनाउन अधिकांश मानिस बाहिर गएकाले धेरै हताहती नभएको अधिकारीहरूको भनाइ छ ।
पीडितहरूलाई ५०० टन चामल र १३ लाख रुपैयाँ दिइएको सरकारले जानकारी दिएको छ ।
एजेन्सी