काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले सम्बोधनका क्रममा समसामयिक सबैजसो कुराको चर्चा गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए । उनका अनुसार प्रधानमन्त्रीले आफू स्वास्थ्य उपचारका सिलसिलामा हालै सिंगापुर भ्रमण गर्न गएको प्रसंगमा समेत संसदमा सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री ओली १० दिन लामो स्वास्थ्य उपचार गरेर गएको सोमबार स्वदेश फर्किएका थिए ।
त्यसपछि सत्तारुढ नेकपाका सचिवालय बैठक बसी कार्यविभाजन समेत भइसकेपछि प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री सिंगापुर जानुअघि एक जना मन्त्री पनि सरकारमा थप थपेका थिए । तत्कालीन संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि खालि रहँदै आएको मन्त्री पदमा प्रधानमन्त्रीले सिंगापुर प्रस्थान गर्नुअघि योगेश भट्टराईलाई नियुक्त गरेका थिए ।