विनोद रखाली मगर,
गल्याङ् – ५, सल्यान
नेपाल साँस्कृतिक विविधताले तथा प्राकृतिक सुन्दरताले सजिएको मुलुक हो । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म प्राकृतिक सुन्दरताले पर्यटकको मन लोभ्याउने गर्दछ । भौगोलिक हिसावले पहाडी जिल्ला भएपनि स्याङ्जा जिल्लाको यही भूगोल पर्यटकलाई आनन्द दिइरहेको हुन्छ । धार्मिक, सास्कृतिक तथा पर्यटकीय सम्भावना रहेको यस स्याङ्जा जिल्ला पछिल्लो समय होमस्टेको हव वन्दै गइरहेको छ । नेपालको पहिलो होमस्टे सन्चालन गर्ने गाँउ सिरुवारी र गल्याङ नगरपालिका वाड नं ५ मा रहेको टाम्केकोट होमस्टे अफ सल्यान भिलेजको आफ्नै छुट्टाछुट्टै विशेषता रहेका छन् ।
सल्यान पर्यटकीय गाँउ समुन्द्री सतहदेखि १५ सय मिटर उचाइमा रहेको छ । सिद्धार्थ राजमार्गको गल्याङ् बजारदेखि करिव १६ कि.मी.को कच्चि सडक छिचोल्दै पर्यटकीयगाउँ सल्यान सजिलै पुग्न सकिन्छ ।
भौगोलिक अवस्था र हावापानी :
सल्यानगाउँ समुन्द्री सतहदेखि करीव १५ सय मिटर उचाईमा अवस्थित रहेको छ । पहाडी भूभाग रहेको यस गाउँको पुर्वमा गल्याङ् नगरपालिका वडा नं ६ चितुङ् गाउँ रहेको छ, भने पश्चिममा स्यालबास गाउँ, उत्तरमा पर्वत जिल्ला र दक्षिणमा गल्याङ् नगरपालिकावडा नं ४ रहेको छ । समशीतोष्ण प्रकारको हावापानी पाइने सल्यानगाउँमा मकै, कोदो, गहुँ, तोरी, फापर लगाएतका प्रमुख अन्नबालीहरु उब्जाउ गरिन्छ । सुन्तलाको पकेट क्षेत्र मानिने टामिकोट क्षेत्र कात्तिक मङ्सिरमा पाकेको सुन्तलाले यस क्षेत्र पहेंलै देखिन्छ । ४५ घरधुरी रहेको यस गाउँमा दुई घर ब्राहमण र अन्य सवै मगर समुदायको बाहुल्यता रहेको छ ।
पर्यटकिय आर्कषणहरु :
सल्यानगाउँ विभिन्न सौन्दर्यताले भरीएको एक गन्तव्य हो । भौगोलिक सुन्दरता र यहाँदेखि देखिने विभिन्न दृष्यहरु, एतिहासिक टामीकोट दरबार क्षेत्र, मगर समुदायका मौलिक संस्कृतीहरु, खानामा अर्गानिक परीकार र लोकल सुगँुरको मासुका विभिन्न परीकारका स्वादले जो कोहीलाई मोहित पार्ने गर्दछ । मगर भाषा तथा नेपाली भाषामा मगर समुदायको मौलिक संस्कृती, सालैजो, झ्याउरे गाउँदैं नाच्दै नचाउदै गाउँले फुलमालाद्धारा आन्तरीक तथा बाह्य पर्यटकहरुलाई स्वागतगर्ने अनौठो चलन रहेको छ । गण्डकी प्रदेश, उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयमार्फत विनियोजित गरीएको रु दश लाख मार्फत निमार्ण गरीएको सभाहलमा पर्यटकहरुलाई रातमा स्थानीय कलाकारहरु, युवा क्लव, आमा समुहद्धारा विभिन्न सांस्कृतीक प्रस्तुतीले मनोरञ्जन प्रदान गराइने गरिन्छ । परम्परागत शैलीका घर, गाउँले परीवेश र जिवनशैली नजिकदेखि अध्ययन गर्न पाउनुको साथै बाइसे चौविसे राज्यको समयमा रहेको एक भुरे राज्य टामीकोट दरबार र उक्त समयमा सैनिकहरु परेड खेल्ने बिशाल मैदान टुडिंखेल, रानीले आत्महत्या गरेको स्थान रानीफाल लगाएतका भग्नावशेषका दृश्यहरु यहाँको मुख्य पर्यटकीय आकर्षणका केन्द्रहरु हुन । यहाँदेखि माछाको पुच्छर जस्तै देखिने माछापुच्छ्र«े, अन्नपूर्ण लगाएतका लटरम्म हिमश्रीङ्खलाहरु प्रस्ट देखिनुका साथै विभिन्न जिल्लाका मनमोहक दृश्यहरु पनि देख्न सकिन्छ । जैविक विविधताले भरीपूर्ण सल्यान गाउँमा फागुन, चैत्र वैशाखमा टामीकोट क्षेत्रमा ढकमक्क फुलेका नेपालको राष्ट्रिय फूल लालिगुराँसले जो कोहीको मन ल्योभ्याउने गर्दछ । साथै विभिन प्रजातीका चराचुरुङ्गी, जीव जनावर , जडिवुटी आदीले यस गाँउको थप सौन्दर्य थपेको छ । यसका अलावा सल्यानगाउँदेखि पौने घण्टामै प्रसिद्ध सेतिवेणी शिला शालिग्राम धार्मिक स्थल पुग्न सकिन्छ । भने उक्त स्थान देखि पानीमा चल्ने मोटर जडिट डुङ्गा प्रयोग गरी नेपालकै ठुलो जलविद्युत आयोजना कालिगण्डकी जलविद्युतको जलासय मिर्मी आधिँमुहान २० मिनेटमै जलयात्रामा पुग्न सकिन्छ । सल्यान गाउँदेखि नजिकै रहेका भाल्थुम कालिका मन्दीर, अकलादेवि मन्दिर आदिको दर्शन गर्न सकिनेछ ।
पर्यटन प्रवद्धनका लागी गरीएका प्रयासहरु :
टामीकोट क्षेत्रको विकाश र प्रवद्धनका लागि स्थानीय श्री जनमुक्ति युवाक्लवले वि.सं. २०६६ सालदेखि टामीकोट महोत्सवगर्दै प्रत्येक वर्ष टामिकोट कप भलिवल प्रतियोगिता, टामिकोट क्षेत्र सरसफाई कार्यक्रम, गोरेटो पैदलबाटो निमार्ण लगाएतका कार्यक्रम र गतिविधिहरु सन्चालनगर्दै आइरहेको छ । साथै यस क्षेत्रको थप विकासका लागी देवेन्द्र रखाली मगरको अध्यक्षतामा टाम्केकोट होमस्टे अफ सल्यान गाउँ नामक संस्था विधिवत रुपमा वि.सं. २०७५ सालमा दर्ता गरि सभाहल निमार्ण, गोरेटो बाटो मर्मत लगाएतका लगायतका पर्यटकीय पूर्वाधारहरु निर्माण गरिरहेको छ ।
सम्भावना र समस्याहरु :
टामीकोट क्षेत्र विभिन्न सौन्दर्यतामा मात्र धनी नभइकन एतिहासीक स्थलपनी भएकाले यस क्षेत्रको सरंक्षण, प्रवद्धनगर्न आवश्यक देखिन्छ । पर्यटनका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायहरु संग समन्वय गरी आन्तरीक तथा बाह्य पर्यटकको संख्यामा वृद्धिगर्न सके यस क्षेत्रको विकास र प्रवद्धनमा टेवा पुग्ने देखिन्छ । कच्चि सडक र गोरेटो बाटोको कालोपत्रे वा मर्मतसम्हार, टामिकोट चुचुरोमा खानेपानीको व्यवस्था, भ्यू–टावरको निमार्ण, पिकनिक स्पोर्टको उचित व्यवस्था, संरक्षित क्षेत्रमा तारजालिको व्यवस्था, तथा सल्यानगाउँ होम स्टेमा सरसफाई तथा होम स्टे व्यवस्थापन बारे तालिम, बढ्दो बसाईसराई दरलाई कम गर्न शिक्षा, स्वास्थ्यको व्यवस्था र व्यवसायिक खेति, पर्यटकिय कटेज निमार्ण आदीको समुचित व्यवस्था र प्रचार प्रसार माध्यान दिन सके जिल्लामै एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नेमा कुनै शंका देखिदैन ।