हिमदुत सम्वाददाता
चापाकोट–२७, साउन ।
अन्तराष्ट्रिय यूवा दिवसको अवसरमा चापाकोट नगरपालिकामा नगरस्तरीय विद्यार्थी सम्मान कार्यक्रम गरी मनाइएको छ । नगरपालिकाको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा चापाकोटका कक्षा आठ देखि १२ कक्षा सम्मका विद्यार्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा चापाकोट नगरपालिकाका नगर प्रमुख शिवकुमार गिरीले समृद्ध नेपाल निर्माणमा यूवाको भूमिका अत्यान्त महत्वपूर्ण रहेको उल्लेख गर्दै विगतको दश वर्षे द्वन्दका कारण विदेशिएका यूवा शक्तिलाई त्यहाँको ज्ञान र शिपको प्रयोग नेपालमै गर्न सक्ने वातावरण मिलाउन सके देशमा छिट्टै समृद्धि आउने वताए ।
कार्यक्रममा नगर प्रवक्ता टिकाराम तिवारी, जिल्ला समन्वय समितीका सदस्य विष्णू आचार्य, वडा अध्यक्ष नवराज श्रेष्ठ, चापाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन श्रेष्ठ, शिक्षा प्रमुख हुकुम सिंह गुरुङ, कार्यपालिका सदस्य सूर्य माझी, लगायतले यूवा शक्ति र देशको विकासका वारेमा आफ्नो धारणा राखेका थिए ।
नगरका सूचना अधिकृत बिन्दु कोइरालाले सन्चालन गरेको कार्यक्रम नगर प्रमुख शिवकुमार गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यार्थी सम्मान कार्यक्रममा चापाकोट नगरपालिकावाट माध्यमिक तहमा अध्यायन गर्ने विद्यार्थीहरुवाट सबैभन्दा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।