काठमाडौं २५, साउन ।
बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ९ जना पुगेको छ भने २० जना अझै वेपत्ता रहेका छन ।
धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले ज्यान गुमाएकामध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै पहिचान खुलेको जानकारी दिए । उनका अनुसार ३ जनाको घटनास्थमै ज्यान गएको हो । यस्तै, दुई जनाको चितवनमा, दुई जनाको तनहुँमा, एक(एक जनाको गोरखा र पूर्वी नवलपरासीमा शव भेटिएको हो ।
शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो । प्रहरी उपरीक्षक राजकुमाव वैदवारका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमा र दुई जनाको चितवनको मुग्लिङ क्षेत्रमा शव भेटिएको थियो ।
पृथ्वी यायायात समितिमा आबद्ध कृष्ण यातायातको बस अत्यधिक गतिका साथ सलाङस्थित वन क्षेत्रको मोडबाट त्रिशूलीमा खसेको थियो । केही यात्रु पौडी खेलेर त केही भिरमा अड्किएर बाँचेका थिए ।
दुर्घटनामा घाइते १६ जनाको ट्रमा सेन्टर काठमाडौँमा र बाँकीको अन्य अस्पतालमा उपचार भइरहेको छ । बसमा ४२ यात्रु, चालक र सहचालक सवार थिए । दुर्घटनामा २० भन्दा बढी यात्रु अझै हराइरहेको र प्रहरीले खोजी गरिरहेको प्रहरी उपरीक्षक वैदवारले जानकारी दिए ।